हारेर पनि जस्ले जिते : राजधानीको चुनाव

0

 

काठमाडौ । राजधानी काठमाडौ जहिले पनि नयाँ र रचनात्मक कुराहरु गर्न र हेर्न मन पराउँछ भन्ने कुरा यसपटकको स्थानीय चुनावले प्रमाणित गरेको छ ।

विवेकशील नेपाली र साझा पार्टी कुनै स्थापित नाम हैन। विवेकशील तीन बर्ष अघि केही जाँगरिला र सचेत युवाहरुले खोलेको दल हो भने साझा पार्टी स्थानीय चुनावको मिति घोषणासगै स्थापना भएको हो । यी दुई पार्टीका उम्मेदवारले राजधानीका दुई महानगरपालिकामा स्थापित काँग्रेस र एमालेलाई राम्रैसँग टक्कर दिए मात्रै हैन, नैतिक रुपमा बिजय पनि हाँसिल गरे ।

झक्कुप्रसाद सुबेदी र नानीमैयाँ दाहाललाई जिताउने यही काठमाडौ हो भन्ने कुरा गर्ने र अहिलेको परिणामलाई पनि त्यही रुपमा बुझ्ने हो भने गल्ती यहीँ हुनेछ । यसपटक राजधानीबासीले लहडमा मतदान गरेका थिएनन्, निकै सचेत मतदाताहरुले नयाँ विकल्पको पक्षमा मतदान गरेका थिए । विवेकशील र साझाका उम्मेदवारहरुले पाएको मतलाई यसै रुपमा बुझ्नुपर्छ ।

स्थापित दलहरुले बर्षौीदेखि मतदातालाई सूर्य, रुख, हसियाँ हथौडा, गाई कण्ठस्थ पार्दै आएका थिए भने प्रचारमा सत्ता, शक्ति, पैसा, प्रलोभनलगायतका अनेक हथकण्डा पनि प्रयोग गरे । चुनाव प्रचारमा हिडाउने वा हिडिदिने सयौं नेता कार्यकर्ताहरुको हुल छदैथियो । तर विवेकशील र साझा पार्टीहरुसँग केही गर्ने चाहना र युवा जोश जाँगर मात्रै थियो । टोल टोलमा संगठन, हजारौ कार्यकर्ता परिचालन, हरेक वडामा पूर्ण उम्मेदवारी दिनु जस्ता स्थापित दलहरुको गतिबिधि अगाडि विवेकशील र साझाको गतिविधि सुन्य प्रायः थियो । पहाडसँग टाउको जुधाउनु जस्तै अबस्थामा रहेका विवेकशील र साझाले ललितपुर महानगरपालिकामा दोस्रो स्थानमा र काठमाडौ महानगरपालिकामा तेस्रो स्थानमा मत पाउनु चानचुने हैन । अझ काठमाडौमा त विवेकशील र साझा पार्टी चुनाव अगाबै मिलेको भए नयाँ उभारले उनीहरुले गणितीय रुपमा पनि जित्ने थिए भन्ने प्रशस्त आधार देखिएकै छ ।

चुनाव चिन्ह कै कुरा गर्दा रुख, सूर्य र हसियाँ हथौडा सबैभन्दा माथि थिए । मतदान गर्न जानेहरुलाई सुरुमै चिन्ह छ भन्नै पर्दैन्थ्यो । तर विवेकशीलको ईष्टकोट र साझाको क्यामरा, सेलरोटी चुनाव चिन्हहरुको भीडमा कता हो कता हराएका थिए । तै पनि मतदाताले आँखाको लेन्सलाई तिखो पारेर खोजी खोजी मतदान गरे । म त्यही चिन्हमै मतदान गर्छु भनेर दृढ अठोट गर्नेहरुले विवेकशील नेपाली र साझा पार्टीलाई कयौं चिन्हरुको बीचमा खोजेको प्रष्ट छ । यसलाई राजधानीका सचेत मतदाताको छनौट पनि भन्न सकिन्छ ।

मतदान गरिसकेपछि पूर्व बैंकर पर्शुराम कुँवर नेपालले मार्मिक फेसबुक स्टाटस लेखेर आफुहरुको छनौट साझा पार्टी र विवेकशील नेपाली भएको संकेत गरेका थिए । उनी जस्तै सचेत मतदाताहरुको रोजाईमा रन्जु दर्शनाु, किशोर थापा, रमेश महर्जन, शोभा शाक्य र निरुपमा यादव परे तर गणितीय रुपमा जित्न सकेनन् । मतदाताको मन भने राम्ररी नै जितेका छन् ।

चुनावमा सचेत मतदाता निकै कम हुन्छन् र दलीय छाप लागेका मतदाताहरुको मत निर्णायक हुन्छ । कतिपय स्थानमा पैसा, शक्ति र प्रलोभनले पनि मतदाताहरुको ठूलो तप्कालाई प्रभावित पारिदिन्छ । विवेकशील र साझाका उम्मेदवारहरुमा पैसा, शक्ति र प्रलोभन दिने क्षमता थिएन र नैतिक हिसाबले उनीहरु त्यसो गर्न पनि चाहदैन थिए । उनीहरुको लडाइँ त्यस बिरुद्ध नै थियो ।

चुनावमा परम्परागत मतदाता सबैभन्दा ठूला भोट ब्याँक हुन्, विवेकशील र साझासँग त्यो छदैथिएन । त्यसैले गणितीय हिसावले उनीहरुले जित्न सकेनन् । आपसमा मिलेर साझा उम्मेदवारी दिएको भए जित्नसक्ने शक्ति प्राप्त हुने थियो भन्ने आधार भने धेरै देखिएको छ । उनीहरु मिलेको भए माहौल नै अर्कै हुन्थ्यो र जनमत सर्लक्कै फर्कन्थ्यो । एकता नै शक्तिमा रुपान्तरण हुने थियो ।

उम्मेदवारहरु कति परिचित छन् भन्ने कुराले पनि चुनावमा ठूलो प्रभाव पार्दछ । एमाले, काँग्रेस र माओबादीका धेरै परिचित अनुहार थिए तर त्यसको तुलनामा विवेकशीलले कम परिचित वा विल्कुलै नयाँ उम्मेदवारहरुलाई चुनावमा खडा गर्यो । किशोर थापा सरकारी सेवामा धेरै बर्ष काम गरेर परिपक्वता हासिल गरेका र अपेक्षाकृत धेरैसँग परिचित भए पनि रन्जु दर्शना र निरुपमा यादव निक्कै नौला अनुहारहरु थिए । कतिपयले त २१ बर्षीया युवतीलाई मेयरको उम्मेदवार बनाएर विवेकशीलले चुनावलाई केटाकेटी खेल बनाएको आरोप पनि लगाएका थिए । तर रन्जुले धेरैलाई आश्चर्यमा पार्ने खालको मत ल्याएर चर्चाका पात्र बनिरहेकी छन् भने निरुपमाले त पहाडले पनि मधेशीलाई पत्याउँदो रहेछ भनेर आफै आश्चर्यमा परेकी छन् ।

ललितपुरमा साझाकी शोभा शाक्यले उपमेयर जितेकी काँग्रेस उम्मेदवारलाई चुनौति दिएर दोस्रो स्थान हाँसिल गरेकी छन् । सचेत मतदाताबीचमा नयाँ नाराका साथै परिचित अनुहारले पनि गणितीय जीतलाई सुनिश्चित गर्न सहयोग गर्ने रहेछ भन्ने देखिएको छ । तर सबै कुरामा यसलाई सापेक्ष रुपमा हेर्न मिल्दैन, राप्रपाका राजाराम श्रेष्ठ धेरै परिचित भए पनि एजेण्डाले काम नगर्दा उनी पछि परे ।

यसपटकको चुनावबाट स्थापित दलहरुले पाठ सिक्न के जरुरी छ भने उनीहरुले जन अपेक्षा अनुसारको राम्रो काम गरेनन् भने जनताले विकल्प खोज्छन् । राजधानीका जनताले रचनात्मकता र परिवर्तनको पक्षमा आफ्नो मत जाहेर गर्दै आएका छन् । अब परम्परागत राजनीतिले चल्दैन भन्ने देखिईसकेको छ ।

विवेकशील नेपाली र साझा पार्टीले पनि निकै गंभीर पाठ सिक्नुपर्ने देखिएको छ । एजेण्डा उस्तै भए पनि आपसमा मिलेर साझा उम्मेदवारी दिन नसक्दा गणितीय हार स्वीकार गर्नु परेको छ । यदि चुनावको मुखमा दुबै पार्टीलाई मिल्न सचेत मतदाताबाट आएको दबाबलाई नेतत्वले मनन् गरेको भए आज मेयर र उपमेयरको पदमा उनीहरु नै पुग्ने थिए । सडकमा बसेर दबाब दिने हैन, कार्यालयमा बसेर जनताको काम गर्नसक्ने हैसियत बनाउँन सक्थे । समय घर्किएपछि पछुताउनुको विकल्प त छैन तर दोस्रो चरणको चुनाव र आगामी दिनमा त्यो कमजोरीलाई नदोहोर्याउने प्रशस्त अवसर उनीहरुलाई छ ।

मेयरमा बिजयको चुचुरोमा पुगेका एमालेका बिद्यासुन्दर शाक्य धेरै ईमानदार राजधानीका रैथाने हुन् । एमालेले हिजो राजधानीबासीमा पारेको छाप र जनाधार नै उनको जीतको सुत्र हो । उनी र नेपाली काँग्रेसबाट उपमेयर पदमा पुग्ने हरिप्रभा खड्गीले आगामी दिनमा विवेकशील र साझाका उम्मेदवारले पाएको मतको भावना बुझेर रचनातमक काम गरे भने उनीहरुले आफुलाई सुधारेको देखिने छ । हैन, फेरि पनि परम्परागत ढर्राको राजनीति गरे भने अर्कोपल्ट जनताले यस्तै रचनात्मक भुमिका अरु सशक्त रुपमा खेल्ने नै छन् ।

एक माघले जाडो जाँदेन । राजनीति एक पटकको चनावमा हारजीतमा मात्र सिमित हुन्न, यो त निरन्तर चलिरहने प्रक्रिया हो । खोलो तर्यो, लौरो बिस्र्यो र जितिएन, टण्टै साफ भन्ने कुराले राजनीति हुँदैन ।

हिजो मत माग्न जनताको घर दैलोमा धनुष्टंकार गर्दै पुगेकाहरु फेरि फर्किएर अर्को चुनावमा मात्रै पुग्छन् कि त्यस भन्दा अगाडि पनि पटक पटक गईरहन्छन् भन्ने कुरा पनि जनताले हेर्छन । विवेकशील र साझाले जितेनन् भन्दैमा जनताप्रतिको जिम्मेवारीबोधबाट उनीहरु पनि उम्किन पाउँदैनन्, सचेत प्रतिपक्षको रुपमा खबरदारी गरिरहनुपर्छ ।

हेरौं, सबैभन्दा पहिले कसले पाठ सिक्छन् र आफुलाई अरु सुधारेर जनताको सेवामा खरो रुपमा उत्रने छन् ।

Comments