स्वर्गसरी खप्तड (फाेटाे/भिडियाे )

0

शब्द/तस्बिर : अब्दुल्लाह मियाँ

खप्तड निकुञ्ज यतिबेला प्राकृतिक गलैंचा जस्तै देखिन्छ । २०४२ सालमा स्थापना भएको यो निकुञ्जको घाँसे मैदान (पाटन) मा विभिन्न प्रजातिका फूल फूलेका छन् । लाग्छ, राता, पहेंला, बैजनी (परपल) रङका फूलले यहाँ पुग्ने पर्यटकलाई स्वागत गरिरहेको छ ।

मनसुनको खप्तड हेर्न लायक छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित यो निकुञ्ज २ सय २५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । खप्तडमा यतिबेला २२ वटै पाटन आकर्षक चामाफूललगायतले रंगिएको छ ।

छिन छिनमा फेरिने बादल अनि वर्षाले खप्तडको मुहार झनै उज्यालो देखिन्छ । पाटनमा यतिबेला किसानका घोडा, गाई, भैंसीलगायतका बस्तु छन् । वैशाखदेखि भदौ/असोजसम्म बझाङ, बाजुरा, डोटी र अछामका किसानले आफ्ना बस्तु पाटनमा छोड्ने गरेका छन् ।

हरेक जसो पाटनमा खर्क छन् । मनसुनको अवधि भएकाले जताततै हरियाली । विभिन्न प्रजातिका वनस्पति र रुख विरुवालेसमेत बास्ना छरेको छ । सल्ला, खसुर र निगालाको जगंल भएर पैदल हिंड्दा थकेको महसुसै हुन्न । डोटीको सिलगढी र साँझघाट, बाजुराको काँडा तथा बझाङको तोमेलबाट पैदल हुँदै खप्तड पुग्न सकिन्छ । यो निकुञ्ज रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाादर, लंगुर बाँदरका साथै डाँफे, मुनाल जस्ता सुन्दर चराचुरुङ्गीको वासस्थल हो ।

धार्मिक दृष्टिकोणले पनि यो क्षेत्र महत्वपूर्ण छ । त्रिवेणी, खप्तड दह, सहस्रलिङ्ग आदि स्थानहरू हिन्दू धर्मावलम्बीहरूका पावन तीर्थस्थल मानिन्छन् । यी स्थानहरूमा गंगा दशहरा, जनैपूर्णिमा जस्ता धार्मिक पर्वमा हजारौंको संख्यामा तीर्थयात्रीहरू भेला भई मेला भर्ने गर्छन् । खप्तड दह–त्रिवेणी क्षेत्रलाई रामसार सूचीमा समावेश गर्न प्रस्ताव गरिएको छ । खप्तडबाबाको कुटीसमेत हेर्नलायक छ ।

पर्या–पर्यटनको प्रचुर सम्भावना बोकेको भए पनि भौतिक पूर्वाधारको अभावले सन्दुकमा लुकाइएको गहनाजस्तो भएको छ । निकुञ्ज सिमासम्म सडक, पदमार्गमा होटल, खान बस्नका लागि सुविधायुक्त होटल/रेष्टुरेन्टको खाँचो छ । प्रचार प्रसारमा पनि त्यत्तिकै ध्यान दिनुपर्ने देखिन्छ । साभार कान्तिपुर

 

 

 

Comments