लुम्बिनी भ्रमण वर्षको तयारी सुरु

विष्णु घिमिरे

प्रदेश ५ सरकारले ०७६ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाउन आवश्यक तयारीमा सुरु गरेको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु-याउन ०७६ लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको हो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तयारीमा जुटेको छ । मन्त्रालयले भ्रमण वर्ष भव्य रूपमा मनाउन वार्षिक कार्यतालिका बनाएर अगाडि बढ्ने तयारी गरेको छ । लुम्बिनीको महत्वलाई संसारभर फैलाउन भ्रमण वर्षका रूपमा मनाउन लागिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बताए ।

लुम्बिनीमा आउने पर्यटकहरूको बसाइ लम्ब्याउने गरी तयारी थालिएको छ । लुम्बिनी, तिरौलाकोट, रामग्राम, देवदहलगायतका स्थलहरूलाई जोडेर नै भ्रमण वर्षका कार्यक्रम अगाडि बढ्ने मन्त्री गिरीको भनाइ छ । लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउने, प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यसँग लुम्बिनीलाई जोड्ने गरी कार्यक्रम बन्दै छन् ।

यस्तो छ तयारी
प्रदेश सरकारले भ्रमण वर्ष मनाउन मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा मूल समिति र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको संयोजकत्वमा कार्यकारी समिति बनाउने तयारी थालेको छ । चैतसम्ममा मूल समिति तथा कार्यकारी समिति बनाउने मन्त्री गिरीले बताए ।

बुद्ध पूर्णिमामा उद्घाटन गरिने
मन्त्री गिरीका अनुसार आगामी वैशाख पूर्णिमा अर्थात् बुद्ध पूर्णिमामा भ्रमण वर्षको उद्घाटन हुने भएको छ । मन्त्रालयका सचिव धनञ्जय पौडेलले प्रत्येक महिनाका पूर्णिमामा विशेष खालका कार्यक्रमहरू गरिनेछन् । एक वर्षका १२ वटा पूर्णिमामा लुम्बिनी भ्रमण वर्षसँग जोडेर कार्यक्रम गर्ने उनले बताए । ०७७ सालको वैशाख पूर्णिमाभन्दा अगाडिको पूर्णिमासम्ममा कार्यक्रम सम्पन्न हुनेछ । भ्रमण वर्ष सफल पार्न लुम्बिनी विकास कोषसहित स्थानीय तह तथा विभिन्न क्षेत्रसँग समन्वय गरेर काम गरिने सचिव पौडेलले बताए ।

के–के कार्यक्रम हुन्छन् ?
लुम्बिनीको महत्व तथा बुद्धको शान्तिको सन्देशलाई संसारभर फैलाएर संसारभरका बौद्धमार्गीहरूका अलावा शान्तिप्रेमीलाई भ्रमण गराउन कार्यक्रम सफल हुने प्रदेश सरकारका मन्त्रीको भनाइ छ ।

प्रदेश सरकार सरसफाइदेखि साहित्य कार्यक्रमसमेत गर्ने योजनामा छ । मन्त्री गिरीले बुद्ध दर्शनसँग जोडेर निबन्ध प्रतियोगितादेखि विभिन्न खालका साहित्यिक कार्यक्रम गरिने बताए । भ्रमण वर्षलाई जोडेर विभिन्न किसिमका महोत्सवहरू गरिने मन्त्री गिरीको भनाइ छ । सडक प्रर्दशनीदेखि विभिन्न क्षेत्रसँगको समन्वयमा भ्रमण वर्षलाई सकारात्मक प्रभाव पार्ने कार्यक्रम गरिने मन्त्री गिरीले बताए । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्दा पर्यटन क्षेत्रलाई प्रदेशको समृद्धिको आधारका रूपमा लिएको उल्लेख गरेका थिए । उनले लुम्बिनी आउने पर्यटकलाई वृद्धि गर्न ०७६ साललाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाउने उल्लेख गरेका थिए ।

लुम्बिनी विकास कोषको ऐन संशोधनको माग
प्रदेश सरकारले लुम्बिनी विकास कोषको ऐन परिवर्तनको माग गरेको छ । लुम्बिनी विकास कोषको ऐनका कारण प्रदेश सरकारलाई लुम्बिनीमा काम गर्न असहज भएपछि ऐन परिवर्तनको माग गरेको हो । यसका लागि मन्त्रीस्तरीय निर्णय गरी मुख्यमन्त्रीमार्फत केन्द्र सरकारमा ऐन संशोधन गर्न आग्रह गरेकोे मन्त्री गिरीले बताए ।साभार नयाँपत्रीका

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com