यी हुन् लोन्ली प्लानेटले छानेका नेपालका उत्कृष्ट पदयात्रा मार्गहरू

0

सुशील भट्टराई  काठमाडौं— संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले सन् २०१७ का लागि नेपालका उत्कृष्ट पदयात्रा मार्गको सूची तयार पारेको छ । लोन्ली प्लानेटको यो सूची हेरेर पदयात्रा गर्न चाहने संसारभरका साहसिक पर्यटक नेपालतिर आकर्षित हुने पर्यटन व्यवसायीको अनुमान छ।

नेपालको शानदार पदयात्रा पूर्वाधारका कारण तपाईंले धेरै केही गर्नै पर्दैन, मात्र पदयात्रा अनुमति लिनुस् र हिँड्न सुरु गर्नुस् । तर, तपाईंले कुन ठाउँको पदयात्रामा जाने हो पहिले त्यसबारे निर्णय गर्नुपर्छ र यो पनि त्यति सजिलो काम भने होइन किनभने नेपालमा सयौं हिमाल र पहाड छन् । उत्तरी भेग सेताम्मे हिउँले भरिएका हिमालले ढाकेका छन् जसमा सर्वोच्च शिखर सगरमाथामात्र होइन पूर्वमा ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघादेखि पश्चिममा ७ हजार १ सय ३२ मिटर अग्लो अपि हिमालसम्म छन् । अधिकांश पदयात्रामार्गीले सगरमाथा आधारशिविर वा अन्नपूर्ण राउन्ड पदयात्रा गर्न रुचाउने गरे पनि नेपालमा दर्जनौं उत्कृष्ट पदयात्रा मार्ग छन् । कुनै राजधानी काठमाडौंबाट केही समयको पैदलमै पुगिने पनि छन्। र, अन्यमा पुग्न भने क्याम्पिङ गर्दै गाइड लिएर जानुपर्छ । नेपालका पदयात्रा क्षेत्रबाट पर्यटकले धेरै नै उत्कृष्ट अनुभव हासिल गर्न सक्छन् ।

सगरमाथा क्षेत्र

सगरमाथा क्षेत्र दृश्यावलोकन, उचाइ, बौद्ध संस्कृति र पदयात्राका लागि राम्रो क्षेत्र हो । सोलुखुम्बुका लेक लाग्ने उपत्यका ८ हजार ८ सय ४८ मिटर अग्लो संसारकै उच्च शिखर सगरमाथा र यसको आधारशिविर छिर्ने प्रमुख रुट हुन् । यो संसारकै सबैभन्दा प्रख्यात पदयात्रा मार्ग हो । प्रमुख मौसममा प्रत्येक दिन १ हजारभन्दा बढी पदयात्रामार्गी जहाजबाट लुक्ला ओर्लने गर्छन् । यो पदयात्रामार्गमा आरामदायी लजदजेखि होटल, बार, तातोपानी र वाइफाई इन्टरनेट उपलब्ध छन् ।

अन्नपूर्ण क्षेत्र

अन्नपूर्ण क्षेत्र दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारका लागि नामुद छ । पोखराबाट उत्तरपट्टि रहेको यो क्षेत्रमा ७ हजार मिटरभन्दा अग्ला १४ हिमाल पर्छन् । जसमा संसारकै दसौं अग्लो ८ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाल पनि पर्छ । प्रत्येक वर्ष बनिरहेका सडकले पदयात्रा मार्गलाई समस्यामा पारे पनि लमजुङको बेसिसहरदेखि मुस्ताङको जोमसोमसम्मको वर्तमान रुट संसारकै उत्कृष्ट पदयात्रा मार्गभित्र पर्छ । १० दिन लामो पदयात्रामा अन्नपूर्ण दक्षिण र अन्य दर्जनौं साना मार्ग समेटिएका छन् जुन हिमाली गाउँमा गएर जोडिन्छन् । अर्कोतिर दुर्गम मुस्ताङ र नार–फूको पदयात्रा थप साहसिक छन् ।

लाङटाङ, हेलम्बु र मनास्लु 

यी क्षेत्र हिमाल र गुम्बा, काठमाडौंबाट नजिक, पदयात्रामार्गीका लागि सोहाद्र्रप्रर्ण र कम उचाइका भेगका कारण चर्चित छन् । लाङटाङ र हेलम्बु दुई वर्षअघिको भूकम्पबाट बढी नै प्रभावित भएका थिए । तर, नेपाल यसबाट धेरै लामो समय पीडित भएन र पदयात्रामार्गी धमाधम काठमाडौंबाट नजिकका ती पदयात्रा मार्गमा जान थालेका थिए । यी क्षेत्र रौं ठाडो पार्ने माउन्टेन फ्लाइटबाट पनि देख्न सकिन्छ भने सामान्य बस चढेर पनि पुग्न सकिन्छ । केही मार्ग ३ हजार ८ सय ७० मिटर उचाइसम्म पनि जान्छन् । भूकम्पअघि पूर्वी लाङटाङ सगरमाथा र अन्नपूर्णको प्रतिस्पर्धीका रूपमा उभिएको थियो ।

पूर्वी नेपाल

नेपालको पूर्वी क्षेत्र शान्त र सुन्दर, खालि पदयात्रा मार्ग तथा कञ्चनजंघालाई नजिकबाट हेर्न मिल्ने विशेषताले भरिएको छ । सगरमाथा, अन्नपूर्ण र लाङटाङ जस्ता स्थापित पदयात्रा मार्गसँग तुलना गर्दा नेपालको पूर्वी क्षेत्र तल्लो भेगमा चिया बगानदेखि उचाइमा लेक लाग्ने उपत्यकाले भरिएको छ । जहाँ जान क्याम्पिङ गर्नुपर्छ र विशेष अनुमतिसहित गाइड लिएरमात्र पुग्न सकिन्छ । ठाउँ–ठाउँमा वाइफाई इन्टरनेट र स्याउका परिकारमात्र नभई संसारकै तेस्रो अग्लो ८ हजार ५ सय ८६ मिटरको कञ्चनजंघा हिमाल नजिकबाट नियाल्न पाइन्छ । सँगै संसारकै पाँचौं अग्लो ८ हजार ४ सय ६३ मिटरको मकालु हिमाल छँदैछ । यहाँका पदायात्रा मार्गमा कोदोबाट बनेको स्थानीय मदिरा ‘तोङ्बा’ अर्को आकर्षण हो ।

पश्चिम नेपाल

नेपालको पश्चिम क्षेत्र हिमाली ताल, दुर्गम गुम्बा जस्ता विशेषताले भरिएको छ । पश्चिम नेपाल पुग्ने पदयात्रामार्गीले विश्वकै प्राचिन जंगली दृश्यावलोकन, हिमताल र प्राचिन गुम्बाको गाउँको छुट्टै अनुभव लिन पाउने छ । पदयात्रामार्गीले त्यहाँ पुग्न हवाई उडान गर्नुपर्छ भने ट्रेकिङ कम्पनीमार्फत प्रतिवन्धित क्षेत्र अनुमतिको व्यवस्था गर्नुपर्छ । जहाँ दुर्गम समुदायसँग साक्षात्कार गर्न पनि पाइन्छ । अधिकांश पदयात्रामार्गी डोल्पाको दुनै र जुम्ला विमानस्थल ओर्लिएपछि यात्रा सुरु गर्न सक्छन् । म्याग्दीको बेनीबाट गाडीमा पनि जान सकिन्छ । त्यसबाहेक से फोक्सुन्डो, रारा जस्ता मनमोहक ताल, अनाम हिमाल, से गुम्बा, हुम्ला, प्राचिन बौद्ध सभ्यता थप आकर्षक पक्ष हुन् ।

Comments