याे हाे कञ्चनजंघा र ताप्लेजुङ पुग्ने पर्यटकहरूले टेक्नुपर्ने गन्तव्यस्थल

आरके अदीप्त गिरी

 लेकाली हरित प्रकृति र हावापानीको सुरम्यता । हुस्सुभित्र हराइरहेको गोरेटो बाटो । मेन्छ्याम डाँडा वरिपरिको विनोदी प्राकृतिक आभा । त्यही डाँडाको उँभोतिर शिर उचालेर लस्करै उभिएका हिमालहरू- कञ्चनजंघा, कुम्भकर्ण, मकालु, महालंगुर । तिनीहरूका निख्खर सेता टाउका र त्यसमाथि फुसफुस झरिरहने हिउँ, मडारिरहने बादल । ठाउँठाउँमा झुरुप्प परेका चौंरीगोठ र भेडीगोठ । पहिलोचोटि गुफापोखरी पुग्ने यात्रीलाई मन्त्रमुग्ध पार्न यी सबै मिलेर सौन्दर्यको बजार लगाइरहेका देखिन्छन् ।

अघिल्लो वर्षको भाद्र महिना । मौसम राम्रोसँग खुलेको थिएन, के-के नपुगेर ठुस्किएकी प्रेमिकाजस्तो थियो मौसम । तर, घुम्ने आदत बसेको मलाई कहाँ-कता जाऊँ भई नै रह्यो । र, पाइलाहरू सोझिए- पूर्वी पहाडको काखमा थुपुक्क बसेको गुफापोखरीतिर । पैताला उत्साहित थिए । धरानबाट धनकुटा हिले हँदै तीनजुरे मिल्केको बाटोतिर अगाडि बढाएँ तिनलाई । ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको त्रिवेणी संगम गुफापोखरी पुगेर पाइला टक्क अडिए । अनि सुरु भयो- आँखाको दौड । मौसमसँग लुकामारी खेलिरहेको थियो- गुफापोखरी । मेरा आँखा र क्यामेरा लेन्सहरू सक्रिय भएका थिए । बेलाबेला प्रकृति पूर्ण रूपमा घुम्टो उघारेर चियाउँथी, फेरि घरिघरि बादलको बर्को ओढेर लुकामारी गर्थी ।

गुफापोखरी आइपुग्ने पुरानो चाहनाले पूर्णता पाएको थियो । म दंग थिएँ । मेरो मन प्रकृतिको यो विशाल भव्यतालाई आँखैअगाडि पाउँदा ‘अहा ! अहा !!’ मात्रै भन्दै थियो । साँच्चि त्यहाँ पुग्दा मलाई आफ्नो इच्छाअनुसारका वस्तु वरदानकै रूपमा भगवान्बाट प्राप्त भएझैं लागेको थियो । मेन्छ्याम डाँडाको ‘गुफा’ र बजारको ‘पोखरी’ मिलेर यस ठाउँको नाम ‘गुफापोखरी’ हुन पुगेको रहेछ । उचाइको हिसाब लगाउने हो भने दुई हजार आठ सय ९० मिटरमा अवस्थित छ गुफापोखरी । कञ्चनजंघा र ताप्लेजुङ पुग्ने पर्यटकहरूले जसै टेक्नुपर्ने गन्तव्यस्थल हो यो । तर, पर्यटकको सोचेजस्तो चहलपहल देखिँदैनथ्यो यहाँ । न्यून रूपमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक गुफापोखरीको स्वागत पाउँदा आफ्ना सबै थकाइ बिर्सन्छन् । यहाँ केही समय भए पनि सुस्ताउँछन् र ऊर्जा बटुलेर पुनः अघि बढ्छन् ।

गुफापोखरी पोखरीमात्र नभएर एउटा सिंगो बस्ती हो, जहाँ शेर्पाहरूको बाहुल्य छ । यस आसपास करिब ५० घर होलान् । शेर्पाली मौलिक संस्कृति, रहनसहन, भेषभूषा पनि आगन्तुकको मन जित्ने यहाँका प्रमुख आकर्षण हुन् । भदौ महिनाको यात्रा, मौसमले बेलाबेला हामीलाई धोका दिइरहँदा मन त्यति खुल्न सकेन । तर, भोलिपल्टचाहिँ एकाबिहानैदेखि मौसम खुलेर आयो । गुफापोखरी वरिपरिको वातावरण भर्खरै धोएर सुकाइराखेको पछ्यौरीझैं देखियो, एकदम बेदागी । जता हेर्‍यो उतै मन रमाउने ।

तीनजुरे, मिल्के र जलजलाले गुफापोखरीलाई थप शोभा दिएका छन् । यो स्थान गुराँसको बगैंचाजस्तो पनि लाग्छ । यहाँ ३२ भन्दा बढी प्रजातिका गुराँस पाइन्छन् । एउटै थुम्कोलाई दर्जनभन्दा बढी प्रजातिका गुराँसका रूखहरूले सिँगारेको हुन्छ ।

पोखरीमा कञ्चनजंघा, मकालु, कुम्भकर्णका सुकिला टाउका चोबलिएका देखिन्थे । बेलाबेला उठ्ने तरंगहरूमा ती टाउकाहरू नाच्दै तरंगित भएर बगिरहेजस्ता लाग्थे । गुफापोखरी अनेक सौन्दर्य-अवतारमा खुलेको थियो । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि खुबै मनोरम देखिँदो रहेछ ।
मौसमले पनि साथ दिएकोमा मन फुरुंग थियो । यस्तो कञ्चन सौन्दर्यको महक ओढेको गुफापोखरीका दर्शनार्थी बन्न पाउँदा हाम्रो मन साह्रै विनीत बन्यो ।

गुफापोखरी पुग्न मनग्गे पैदल यात्रा गर्नुपर्छ । संखुवासभा सदरमुकाम खाँदबारीबाट चिचिला, बाह्रबिसे हँदै पोखरी पुग्न पाँच दिन हिँड्नुपर्छ । त्यस्तै तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको दक्षिणी बाटो भएर चीनजुरे मिल्के, लामापोखरी हुँदै पनि गुफापोखरी पुग्न सकिन्छ । हामी भने तीनजुरेको बाटो हुँदै डोरिएका थियौं ।
यस पोखरीको यात्रा हाम्रा लागि निकै चुनौतीपूर्ण बन्यो । कारण, यो रुट त्यति व्यवस्थित र प्रचलित यात्रा गन्तव्यमा दर्ज भइसकेको रहेनछ । बाटोमा पसल वा होटल पाए त वरदानै साबित हुने । लेकाली खर्कैखर्कहरूको बाटो हिँड्नुपर्ने । यात्रीहरूले आफैँ खाजा, खाना, पानी र बासका लागि बन्दोबस्त गर्नुपर्ने रहेछ । चुनौतीसँग सामना गर्दै यात्रा गर्नु पो जिन्दगीको मज्जा हुन्छ । हामीले पनि प्रशस्त सामलतुमल बोकेका थिएनौं । तर, भेडीगोठहरूमा बास माग्दै र दुःखजिलो खानपिन गर्दै चुनौतीलाई सहज रूपले स्वीकार गर्‍यौं । एवं रीतले हाम्रा पाइला गुफापोखरी टेक्न सफल भएका थिए ।

यहाँ पुग्नका लागि उपयुक्त महिना हुन्- भदौदेखि कार्तिक र फागुनदेखि वैशाख । अरू महिना हिउँ-तुषारो र वर्षाका कारण कष्टकर हुन्छन् । यति हुँदाहुँदै पनि वर्षको २५ सयदेखि पुगनपुग तीन हजार दर्शनार्थी गुफापोखरी टेक्दा रहेछन् । गुफापोखरी बजार पुगेपछि चाहिँ फाट्टफुट्ट होटल तथा लज भेटिन्छन् । यात्रीलाई विभिन्न मौलिक परिकारले समेत बोलाइरहेका हुन्छन् । लेकाली छुर्पी, याकको मासु, कोदोको तोङ्वा यहाँका विशेष स्वादिला परिकार हुन् ।
गुफापोखरीको प्राकृतिक महत्वव त छ नै, धार्मिक, सांस्कृतिक महत्वव पनि उत्तिकै छ । सबै धर्मावलम्बीका लागि उत्तिकै पवित्र मानिने यो पोखरी प्रकृतिको काखमा रहेको तीर्थस्थल पनि हो । कतिपय धार्मिक आस्था राख्नेहरू गंगाभन्दा गुफापोखरीलाई चोखो मान्दा रहेछन् । त्यसैले पनि धेरै मानिस यस पोखरीको दर्शनार्थी बनेर यहाँ आइपुग्दा रहेछन् ।

‘यो पोखरी त देवताले सच्चा बास गरेको स्थल पो हो । यहाँ आउँदा हरेक मनोकामनाहरू पूरा भएझैं लाग्छ’, संखुवासभादेखि पोखरी दर्शनका लागि पुगेका मनरूपा राई र उनको समूहले हामीलाई प्रतिक्रिया बाँड्दै थियो । यहाँको दर्शन पाउँदा उनीहरू स्वर्गकै दर्शन पाएजसरी आफूलाई धन्य सम्झिरहेका थिए ।

तीनजुरे, मिल्के र जलजलाले गुफापोखरीलाई थप शोभा दिएका छन् । यो स्थान गुराँसको बगैंचाजस्तो पनि लाग्छ । यहाँ ३२ भन्दा बढी प्रजातिका गुराँस पाइन्छन् । एउटै थुम्कोलाई दर्जनभन्दा बढी प्रजातिका गुराँसका रूखहरूले सिँगारेको हुन्छ । यी विभिन्न रङ र प्रजातिका गुराँस फुल्दा यी थुम्काहरूको सौन्दर्य छचल्किएर पोखिन्छ । ‘वसन्तयाममा गुराँसको सुगन्धले बाटो काटेको पत्तै हँदैन’, तेह्रथुम आठराईका कोकिल न्यौपाने भन्दै थिए, ‘त्यसँगै न्याउली र कोइलीको सुरम्य संगीतले मनै हरक्क पार्छ ।’

गुराँसको अलावा यहाँ सुनपाती, चिमाल, कटुस, भैरुमपाती, तोलिन्दाजस्ता पुराना रैथाने वनस्पति पनि पाइँदा रहेछन् । यो लेकाली भूमि जडीबुटीका लागि पनि उत्तिकै प्रख्यात छ । पाखनवेद, पाँचऔंले, जिम्बु सतुवा, चिराइतो लगायतका दुर्लभ जडीबुटीका लागि पनि यो भूमि उर्वर छ । घुर्बिसे डाँडा गुफापोखरीदेखि १२ किलोमिटरनजिकै उभिएको छ । घुर्बिसेबाट धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम र झापाका भूभाग प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

पर्यटकीय सम्भावना उच्च हुँदाहुँदै पनि गुफापोखरी ओझेलमै छ । यसलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन सके, स्थानीयवासीले असंख्य फाइदा लिन सक्छन् । पछिल्लो समय उनीहरू सचेत पनि छन्, यस ठाउँको महत्ववबारे । यहाँ उत्पादित चौंरीको छुर्पी, सेग्र्याम, भेडा तथा च्यांग्राको घ्यू, ऊन बजार अभावका कारण सस्तो मूल्यमै दलाललाई बेच्न बाध्य छन् । ‘धेरै उत्पादन त बाहिर जान पनि पाउँदैनन्, स्थानीय तहमै खपत हुन्छ’, गुफापोखरीमै भेडीगोठ सञ्चालन गरेर बसेका पुरनधन खालिङले भन्दै थिए, ‘यहाँ आउने पर्यटकहरू आफैं किनेर लग्ने पनि गर्छन् । हाम्रा लागि बजारको सहज पहुँच कहिले होला खै? ‘

गुफापोखरीलाई ‘सबैको, सधैंको गन्तव्य’ बनाउने हो भने राज्यस्तरदेखि स्थानीयहरू सबै जुर्मुराउनु जरुरी छ । यसमा सबैको ध्यान खिच्न राज्यका तल्ला निकाय स्थानीय तहले नै सर्वप्रथम पहल लिनुपर्छ । यसको पूर्वधार विकास र आवश्यक व्यवस्थापनमा उचित ध्यान पुगेमा गुफापोखरी देशीविदेशी सबैखाले पर्यटकको रोजाइमा पर्नसक्ने निश्चित छ ।लागिरह्यो— विविधताको प्रचुरता रहेको यस हिमाली पोखरीप्रति सबैको ध्यान बेलैमा जाओस् ! र, दर्शनार्थीहरू फेरिफेरि गुफापोखरी सम्झेर आई नै रहून् ! यही कामना गर्दै हामीले त्यो छोटो समयको यात्रा युटर्न गर्‍यौं । भरे फेरि गुफापोखरी पुग्न मन लागिरहन्छ ।साभार अन्नपुर्ण

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com