यस्ताे छ नेपाली आकाशमा विमान दुर्घटनाकाे अवस्था

नेपाली आकाशमा अहिलेसम्म ४८ विमान, आठवटा सिंगल इन्जिनयुक्त विमान, ३४ वटा हेलिकप्टर, ९ वटा विदेशी वायुसेवाका विमान र तीनवटा अल्ट्रालाइट दुर्घटनामा परेका छन् । विमान दुर्घटनामा ३४०, सिंगल इन्जिनमा १९, हेलिकप्टरमा ८३, विदेशी वायुसेवाका विमानमा ३७३ र अल्ट्रालाइट विमान दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो पाँच वर्षमा मात्र ९ विमान र ८ वटा हेलिकप्टर दुर्घटना भएका छन् ।

मानवीय क्षति भएका हरेक दुर्घटनापछि छानबिन आयोग बन्छन्, तर आयोगले दिएका सुझाव भने कार्यान्वयन हुँदैनन् । हरेकजसो दुर्घटनामा पुरानै कारण दोहोरिइरहनुले त्यही देखाउँछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल भने विभिन्न समयमा छानबिन आयोगहरूले दिएका सुझव कार्यान्वयन गरिएको दाबी गर्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन प्रतिवेदनहरूको सुझव कार्यान्वयन र हवाई सुरक्षाको अवस्थाबारे अध्ययन गर्न दुई साताअघि समिति गठन गरेको छ । समितिका संयोजक बुद्धिसागर लामिछाने भन्छन्, “समितिले काम गरिरहेको छ, त्यसले नेपालको हवाई सुरक्षाको वास्तविक अवस्था चित्रण गर्नेछ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९७९ यता ३४ वटा हेलिकप्टर दुर्घटना भएका छन् । सन् १९९९ सम्म ९ हेलिकप्टर मात्र दुर्घटना भएकोमा पछिल्लो १९ वर्षमा २५ हेलिकप्टर दुर्घटनामा परेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारी नियामक निकायको क्षमता नबढाई हेलिकप्टर कम्पनीको लाइसेन्स दिने क्रम बढेकाले दुर्घटना दर बढेको बताउँछन् ।

नेपालमा हेलिकप्टर कम्पनीको संख्या ११ पुगे पनि वायुसेवाका लागि आवश्यक जनशक्ति विकास चासोमै परेको छैन । नागरिक उड्डयन प्राधिकरणका पूर्व कामु महानिर्देशक रावल कमजोर नियामक निकायका कारण मौसमको जानकारी नलिई हेलिकप्टर उडाउने प्रवृत्तिले हेलिकप्टर दुर्घटना बढेको बताउँछन् । “हवाई उड्डयनमा सुरक्षा पहिलो प्राथमिकतामा हुन्छ” उनी भन्छन्, “हाम्रो उड्डयन सुरक्षाको स्तर कागजमा मात्र बढेको हुन सक्छ, त्यसको प्रभाव भने देखिंदैन ।”

नेपालमा हवाई दुर्घटना प्रायः पहाडी र हिमाली क्षेत्रमा हुने गर्छन् । प्राधिकरणमा उड्डयन सुरक्षाको जिम्मेवारी हेर्ने पोखरेल पहाडी र हिमाली क्षेत्रमा छिटोछिटो परिवर्तन हुने मौसमलाई दुर्घटनाको प्रमुख कारण मान्छन् । हुन पनि, ठूला–साना सबै विमानले जडित उपकरणका आधारमा उडान गर्दै आए पनि हेलिकप्टरमा भने पाइलटले बाहिरको अवस्था आँखाले हेरेरै निर्णय लिनुपर्छ । हिमाली क्षेत्रमा हुने हेलिकप्टर उडान त प्रायः स्थानीय व्यक्तिले दिने मौसम सम्बन्धी जानकारीका आधारमा हुने गर्छ ।

“मौसम विभागले सबै ठाउँको मौसमबारे जानकारी दिन नसक्ने भएकाले स्थानीय व्यक्तिमा भर पर्नुपर्ने हुन्छ” हिमाली क्षेत्रमा उडान गर्दै आएका पाइलट कान्ति सिलवाल भन्छन्, “त्यसकारण उडानमा पाइलट नै निकै सचेत हुनुपर्छ ।”

हेलिकप्टर उडानमा सुरक्षाको यस्तो खेलाँची कहिलेसम्म त ? संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव आचार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर उडानका लागि छुट्टै संरचना निर्माणको क्रममा रहेको बताउँदै भन्छन्, “त्यसलाई मौसमको पूर्ण जानकारी दिने इकाइमा विकास गर्न सकिए मौसम परिवर्तनका कारण हुने गरेको दुर्घटना रोक्न सकिन्छ ।”

मन्त्रालयका अर्का सहसचिव बुद्धिसागर लामिछाने भन्छन्, “बदलिएको मौसम अनुसार निर्णय लिन सक्ने अनुभवी, दक्ष र दबाब सहन सक्ने क्षमता भएका पाइलट नभएमा उसको सानो निर्णयमा पनि ठूलो दुर्घटना हुन सक्छ ।”

तर, नेपालको भौगोलिक अवस्था अनुसार पाइलटलाई दक्ष बनाउन वायुसेवा र हेलिकप्टर कम्पनीहरूले नै लगानी गर्दैनन् । “यो भूगोल नै मौसम परिवर्तन भइरहने खालको हो, खराब मौसममा पनि उडान गर्न सकिन्छ भन्ने मानसिकता बनेको छ” एक पाइलट भन्छन्, “निरन्तर उड्डयन सुरक्षाबारे तालिम हुने गरेको भए यस्तो मानसिकता बन्दैनथ्यो ।”

प्राधिकरणका उपमहानिर्देशक पोखरेल भने खराब मौसममा उडान नगर्न पटकपटक सचेत गराउँदा पनि हेलिकप्टर कम्पनीले निर्देशन पालना नगरेको बताउँछन् । “हामीले सचेत गराउने पाइलटलाई हो” उनी भन्छन्, “जोखिम कति लिने भन्ने उनीहरूमै भर पर्छ ।”

हवाई सुरक्षाबारे प्रश्न उठिरहेकै बेला उड्डयन क्षेत्रकै विभागीय मन्त्रीले दुर्घटनामा ज्यान गुमाएपछि नेपाली आकाश थप असुरक्षित बनेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह हुने खतरा बढेको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी भन्छन्, “हामी नेपाल भ्रमण वर्ष २०२० को सँघारमा छौं, नेपाली आकाश सुरक्षित भएको सन्देश दिन ठोस काम तत्काल शुरू गर्नुपर्छ ।”

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com