भारतीय प्रधानमन्त्री मोदी अाउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुर्इ दिन कम्तीमा आधा–आधा घन्टा बन्द हुने

अतिविशिष्ट उडानका वेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार र शनिबार कम्तीमा आधा–आधा घन्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौं आउने, काठमाडौंबाट मुक्तिनाथ जाने, मुक्तिनाथबाट काठमाडौं फर्कने र काठमाडौंबाट दिल्ली फर्कने हरेक समय विमानस्थल आधा–आधा घन्टा बन्द हुनेछ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल व्यवस्थापनले आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै कम्पनीलाई विमानस्थल बन्द हुनेसम्बन्धी सूचना दिइसकिएको छ । सोही आधारमा वायुसेवा कम्पनीहरूले आफ्ना जहाजको उडान–अवतरण गर्ने समय केही परिवर्तन गर्ने गर्छन् ।

भारतीय प्रधानमन्त्री मोदी काठमाडौं आउने दिन शुक्रबार एकपटक मात्र त्रिभुवन विमानस्थल आधा घन्टा बन्द हुनेछ । शुक्रबार १२ः१० मिनेटदेखि १२ः४० सम्म विमानस्थल बन्द हुँदै छ । शनिबार भने तीनपटकसम्म विमानस्थल बन्द हुनेछ । शनिबार बिहान ६ बजेदेखि साढे ६ बजेसम्म पहिलो चरणमा विमानस्थल बन्द हुने ठाकुरले जानकारी दिए ।

नयाँ जहाज प्रवेश बिन्दु घोषणाको सम्भावना
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा नेपालले भारतसँग मागेका जहाज प्रवेश बिन्दुमध्ये केही बिन्दु तय हुन सक्ने सम्भावना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाका अनुसार मन्त्रालयबाट कुनै पनि औपचारिक एजेन्डा गएको छैन, तर यसपटक नेपालले मागेको प्रवेश बिन्दुमध्ये भारतले यसअघि नै हरियो झन्डा देखाएका प्रवेश बिन्दु खुला गर्ने सम्बन्धमा औपचारिक घोषणाको भने सम्भावना छ । ‘महेन्द्रनगरमा भारत यसअघि नै सकारात्मक थियो,’ उनले भने, त्यसबाहेक भारतले खुला गर्न सक्ने संकेत गरेका अन्य प्रवेश बिन्दुसमेत खुला गर्ने घोषणा हुन सक्छ ।’


Facebook Comment


No ads found for this position