नेपालमा पाँच हजार ३५३ तालमध्ये २० ताल फुट्ने जोखिममा

२८ वैशाख, पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिलि्सनाले प्राकृतिक स्रोत साधनको संरक्षण, संवर्द्धन र प्रवर्द्धनसँगै जनताको प्रत्यक्ष जीविकोपार्जनको आधार बनाइनुपर्ने बताएका छन् ।

राष्ट्रिय ताल संरक्षण तथा विकास समितिद्वारा आजदेखि पोखरामा शुरु भएको दुईदिने अन्तर्राष्ट्रिय ताल सम्मेलन सन् २०१८ को उद्घाटन गर्दै उनले प्राकृतिक र मानव गतिविधिका कारणले सङ्कटमा परेका हिमाल, पहाड र तराई क्षेत्रमा रहेका कतिपय जलाशयको संरक्षणका लागि सरकार, निजी क्षेत्र र स्थानीयस्तरबाट पहल गरिनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले चौतारा, पोखरीलगायत जैविक विविधताका मुख्य स्रोतको संरक्षणका लागि कानून बनाउने तयारीमा प्रदेश जुटेको बताए ।

पूर्वमन्त्रीद्वय कृपासुर शेर्पा र गणेश शाहले पानी प्रदूषण गर्ने जो कसैलाई पनि कानून बनाएर दण्डित गरिनुपर्नेमा जोड दिए । नेकपा -एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले ताल संरक्षण समितिले १२ वर्षमा तयार पारेका तथ्यांकका आधारमा मुलुकका तालको संरक्षण र विकासमा जुट्नुपर्ने बताए ।

नेपाल पर्वतारोहण संघका सचिव टीकाराम गुरुङले नेपालमा तीन हजार ३१० हिमाल रहेकामा आठ हजार मिटरभन्दा बढी उचाइका १४, सात हजार ५०० मिटरका १२२ र छ हजार मिटर उचाइ भएका एक हजार ३१० हिमाल रहेको र नेपाल सरकारले हालसम्म ४१४ हिमालको मात्र नामकरण गरेको बताउँदै उहाँले त्यस क्षेत्रमा रहेका हिमताल फुट्न सक्ने खतरा औँल्याए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा विश्वबहादुर भण्डारीले नेपालमा पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको उल्लेख गर्दै हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको बताए ।

राष्ट्रिय ताल संरक्षण तथा विकास समितिका अध्यक्ष नानीकाजी थापाले तालतलैया तथा सिमसार क्षेत्रको संरक्षण, संवर्द्धन र दिगो उपयोगका लागि भएगरेका प्रयासका बारेमा सूचना, ज्ञान तथा अनुभव आदानप्रदान गर्ने विषयमा सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय ताल फाउण्डेशनका उपाध्यक्ष मासाहिस माकामुराले जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिए ।

नेपाललगायत चीन, भारत, श्रीलंका, बंगलादेश, म्यानमा, जापानसहित सात राष्ट्रको सहभागिता रहेको उक्त सम्मेलनमा ‘जैविक विविधता, ताल र सिमसार क्षेत्रको संरक्षणमा देखिएका चुनौती र सम्भावना’ विषयमा २१ कार्यपत्र प्रस्तुत गरिने राष्ट्रिय ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक लङ्कबहादुर शाहीले जानकारी दिए । त्यसअघि पोखराको मुख्य पर्यटकीयस्थल बाराहीचोकबाट ताल संरक्षण तथा प्रवर्द्धनसम्बन्धी नारा लेखिएको तुलसहित प्रभातफेरी निकालिएको थियो ।


Facebook Comment


No ads found for this position