निगमले अन्तराष्ट्रिय उडान गरिरहेको जहाज बिक्री गर्ने तयारी

२१ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको बोइङ–७५७ एसीए सिरिजको जहाज बिक्री गर्ने तयारी गरेको छ । इन्जिनमा समस्या आएपछि मर्मतका लागि एक महिनाअघि सिंगापुर लगिएको जहाजको मर्मत गर्दा खर्चिलो हुने भन्दै विस्थापन गर्न लागिएको हो ।

Nepal_Airlines_757-200M_9N-ACBनिगमले यो जहाजलाई के गर्ने भनेर औपचारिक निर्णय भने गरिसकेको छैन । तर, निगम स्रोतका अनुसार जहाजको इन्जिन पूर्ण रूपमा फेर्नुपर्ने गरी समस्या देखिएको भन्दै विस्थापनको तयारी सुरु गरिएको छ ।

निगम स्रोतका अनुसार मर्मतका लागि सिंगापुर लगिएको जहाजको इन्जिनमा देखिएको समस्या समाधान गर्न स्पेनबाट प्राविधिक मगाइए पनि समस्या नै पहिचान हुन सकेको छैन । निगम व्यवस्थापनले औपचारिक निर्णय गरिनसके पनि उक्त जहाजको एउटा इन्जिन झिकेर अर्को बोइङमा राखिसकिएको छ । “अब पूरै इन्जिन फेर्नुपर्ने भएकाले यसलाई मर्मत भन्दा विस्थापन गर्ने तयारी सुरु गरिएको हो,” स्रोतले भन्यो । नयाँ इन्जिन फेर्नका लागि कम्तीमा १ अर्ब ५० करोड रुपैयाँ लाग्ने देखिएको र निकै पुरानो समेत भएको भन्दै विस्थापनको निर्णय गर्न लागिएको हो ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने जहाजमा गम्भीर समस्या आएको स्वीकार गरे पनि के गर्ने भन्ने निर्णय भने भइनसकेको दाबी गरे । “हामीले यो जहाजलाई के गर्ने भनेर अझै निर्णय गरिसकेका छैनौं,” उनले भने, “जहाजमा देखिएका समस्या कत्तिको गम्भीर हुन् भनेर ‘क्रस चेक’ पनि भइरहेको छ ।” उनले जहाज बिक्रीको तयारी भइरहेको भन्ने स्वीकार नगरे पनि मर्मत नभए त्यो अन्तिम विकल्प हुनसक्ने संकेत गरेका छन् ।

निगम स्रोतले भने जहाज बिक्रीका लागि ग्लोबल टेन्डर गरेर बिक्रीको तयारी भइरहेको दाबी गरेको छ । “अब कवाडीमा बिक्री गर्नुको विकल्प छैन भन्नेमा निगम पुगेको छ,” स्रोतले भन्यो । बिग्रिएको जहाजको एउटा इन्जिन अर्को जहाजमा राखिएकाले उक्त जहाज (बोइङ ७५७ एसीबी) जहाज कम्तीमा दुई वर्ष चल्ने भएको छ । निगमले सन् १९८७ मा अन्तरराष्ट्रिय उडानका लागि यो जहाज खरिद गरेको थियो । १९० सिट क्षमताको उक्त जहाजमार्फत निगमले २८ वर्षदेखि उडान गरिरहेको छ । लामो रुटमा बोइङका जहाज नै उत्तम भएकोले पनि तत्काल विस्थापनभन्दा मर्मत गरेर अधिकतम फाइदा लिने रणनीतिमा निगम लागेको थियो ।

शंकास्पद विस्थापन

निगमले ०५० सालमा दुई बोइङ आइन एन बीएन विमानलाई कौडीको भाउमा बिक्री गरिएको भन्दै अहिलेसम्म आलोचना भइरहेको छ । नियमित उडिरहेका ती दुवै विमान १२ करोड रुपैयाँमा बेचिएका थिए । यसपटक पनि सस्तोमा बिक्री हुने हो कि भन्ने धेरैको चिन्ता छ । निगम सञ्चालक समितिले धेरै जहाज आवश्यक रहेकोले विस्थापन गर्ने भन्दा पनि मर्मत गरेर सञ्चालन गर्ने यसअघि नै निर्णय गरेको थियो ।

निगमका अधिकारीहरू बोइङका विषयमा चाँडै निर्णय हुने बताउँछन् । “निगम व्यवस्थापनले हालसम्म जहाज विस्थापनको निर्णय गरेको छैन । छलफल जारी राखेका छौं, छिट्टै निर्णय गर्नेछौं,” प्रवक्ता रामहरि शर्माले भने । मर्मत गरेर चलाउँदा फाइदा हुन्छ वा विस्थापन गर्दा फाइदा हुन्छ भन्ने विषयमा निगममा छलफल जारी रहेकोले अहिले नै भन्न नसकिने शर्माले बताए ।

बोइङ ७५७ प्रत्येक १८ महिना अथवा ५ हजार घण्टा उडान भरेपछि सी–चेकिङ र ओभरहल चेकिङ गर्नुपर्छ । त्यसका लागि निगमले जहाज बाहिर लैजाँदै आएको छ । यसमा निगमको वार्षिक २ अर्ब रुपैयाँ खर्च हुन्छ । २ जहाजले वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी गरे पनि २ अर्ब मर्मतमै खर्च हुने गरेको छ । एउटा जहाजको इन्जिन ओभरहल चेकिङ गर्न ५५ करोड, सी–चेकिङ गर्न २५ करोड तथा स्पेयर पार्ट्सका लागि २० करोड रुपैयाँ हाराहारीमा खर्च हुने गरेको छ ।

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com