दीपक उपाध्याय
कैलालीको धनगढीमा पछिल्लो केहि वर्षदेखि ठूलो लगानीको होटल खुल्ने शिलशिला सुरु भएकोमा यसैवर्ष करोडौको लगानीको अर्को होटल थपिएको छ ।
धनगढीका कुलदीप ध्वज थापाले साढे तीन करोड रुपैया लगानीमा ‘आफ्नो घर टेम्पल रिसोर्ट’ नामको होटल सञ्चालनमा ल्याएका छन् । यस क्षेत्रमा रहेको पर्यटकीय सम्भावनालाई मध्यनजर गरेर उनले ठूलो लगानीको होटल सञ्चालनमा ल्याएका हुन ।
धनगढीको उत्तर बेहडीमा सञ्चालनमा आएको उक्त होटल हालसम्म यहाँ बनेका होटल भन्दा फरक शैलीमा बनेको छ । वातारण, संस्कृति र पूराना सम्पदासंग नजिकिएर होटलको निर्माण भएको संचालक कुलदीप ध्वज थापाले बताए ।उनले भने–‘होटलको संरचना नै अरु भन्दा फरक छ । यहाँ पाइने खानाको परिकार पनि स्थानीय स्तरमा प्रचलित रहेका छन् ।’
आफ्नो घर टेम्पल रिसोर्टमा थारु समुदायमा प्रचलित ढिक्री, कुखुराको सेकुवा, खंरिया लगायतका खाना पाईन्छ । त्यसैगरी, नेवारी खानाका परिकारका साथै झोल मःमः, चिकन बिर्यानी ग्राहकको रोजाईमा पर्न सक्ने होटलका कार्यकारी प्रबन्धक देवेन्द्र हमालले बताए ।
उनले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफ्नो घर टेम्पल रिसोर्टको खानाका परिकारले आकर्षण गर्ने बताए । ‘अन्य खानाका परिकार अरु होटलहरुमा पाईन्छ’, उनले भने–‘हाम्रो यहाँ विशेष स्थानीय परिकार पाईन्छ । जुन अरुको रोजाईको खानाका परिकार बन्न सक्छ ।’
धनगढीका पूराना रेष्टुरेन्ट व्यवसायी स्वर्गीय खडक बहादुर थापाले आफू यस प्रकारको होटेल सञ्चालन गर्ने आकाङक्षा देखाएका थिए । तर, उनको ईच्छा पूरा नहुँदै निधन भएपछि स्वर्गीय बुवाको सपना पूरा गर्नका लागि आफुले होटेल सञ्चालनमा ल्याएको होटलका संचालक कुलदीप ध्वज थापाले बताए ।
यस क्षेत्रको संस्कृतिसंग प्रत्यक्ष सरोकार राख्ने गरी होटलको निर्माण भएको कार्यकारी प्रबन्धक हमालले बताए । उनले भने–‘हाम्रो यहाँको फेमिली रेष्टुरेन्ट थारु समुदायसंग सम्बन्धित छ । आदिवासी जनजाति थारुको जीवन शैली लगायत झल्किने कलात्मक चित्र रेष्टुरेन्टमा बनाइएको छ । जुन एउटा आकर्षणको विषय बन्न सक्छ ।’ साथै होटलको आकर्षणका रुपमा रहेको लाईटिङ्गका कारण सन्ध्याकालिन बसाई अत्यन्त मनमोहन हुने हमालले बताए ।
हमालले जुनसुकै वर्गका व्यक्तिले मूल्य तिर्न सक्ने गरि खानाका परिकारको मूल्य निर्धारण गरेको बताए । उनले होटलको कोठा मूल्य दर समेत सबैले तिर्न सक्ने किसिमले तय गरेको सुनाए । होटलमा थारु समुदायले प्रयोग गर्ने काठे बयलगाडा समेत प्रदर्शनीका लागि राखिएको छ । विभिन्न प्रजातिको रुखका कारण वातावरण रमणीय रहेको उक्त होटलमा काठमाण्डौंको जस्तो ढुङ्गे धारा समेत निर्माण गरिएका छन् । होटलमा दुई वटा सभा हल सहित १५ वटा कोठा रहेका छन् ।
आफ्नो घर टेम्पल रिसोर्टसंगै धनगढीमा ठूला होटलको संंख्या अब ६ पुगेको छ । यसअघि द होटल डिभोटी, द होटल रुबस, होटल साथी, होटल दिनेश, होटल जलसाले ठूला होटलको रुपमा सेवा दिदैं आइरहेका छन् ।

hotel dhangadi (1)hotel dhangadi (3)hotel dhangadi (4)hotel dhangadi (9)