डगर खोलिँदा…

0

कृष्णराज सर्वहारी

बर्दियाबाट दशैं मनाएर राजधानी फर्केका एक अभिन्न मित्रले सुनाए, ‘हैट ! गाउँ त पस्रापूर खत्तम भैसकेछ ।’ ‘होइन कसरी खत्तम भयो ? प्रस्ट खुलाउनुुस् न ?,’ मैले भने । उनले बेलिविस्तार लाए, ‘अरे यार, जो जंगलकै छेउमा खाँबो गाडेर बसेको छ । जसलाई दाउराको कुनै चिन्ता छैन, उसैले काँधमा दाउरा होइन, सिलिन्डरको ग्यास थेग्न थालेको छ । गाउँ त पूरै परनिर्भर भएको छ ।’ उनी भन्दै गए, ‘दाउरामा पकाएको भातको सुगन्ध अब गाउँमा पनि पाइन छोड्यो, अनि गाउँ खत्तम भएन त ?’

मैले केही भन्न खोज्दै थिएँ, तर उनी ननस्टप शैलीमा दर्शन छाँट्दै गए । ‘यो सबै डगरको कमाल हो । तर डगर खुलेपछि विकाससँगै विनास पनि छिरेको छ । खेल खलिहानमा जाँदा पनि किसान काँधमा कोदालो राखेर साइकलमा बसेर पो जाँदोरहेछ । त्यो अटो हो कि सटो हो, सटासट गाउँमा छिर्दोरहेछ ।’ डगर अर्थात् बाटो त विकासको परिचायक हो । घरमै मोटरगाडी पुग्नु जनताको लागि त फाइदै हो नि । अनि मित्र किन बर्बराउँछन् यसरी कि डगरको विकाससँगै विनास पनि छिर्‍यो । मलाई पनि झ्वाँक चल्यो ।

म सम्झिन्छु, कसरी मेरा थारू पुर्खाहरू डगर नहुँदा वनजंगल छिचोलेर, वन्यजन्तुहरूसँग पैठेजोरी खेलेर महिनौं महिनाको हिँडाइपछि बुढान टेके । तिनका दुःखका कथा सुन्दा शरीरमा काँडा उम्रन्छ । डगरबिनाको डगरमा मालिकका भुराभुरीलाई बोकेर काँध खुइल्याउनेहरूको कथा कसले पो हो लेख्ने । डगरको विकासले नेपालका कुनाकाप्चा झिलीमिली हुँदै गएको समाचार दिनहुँ पढ्न पाइन्छ । हुन पनि हो, कर्णाली राजमार्गले कर्णालीका स्याउ अहिले तराईदेखि राजधानीसम्म महँगो दरमा ‘अर्गानिक’ भनेर बिक्री हुन थालेका छन् ।

बाँकेका चोकचोकमा चाङ लगाएर कर्णालीको मीठो स्याउ बेचिएको देखिन्छ । वेला–वेलामा कर्णालीको स्याउ राजधानी पनि टेक्छ । कसैले कोसेली दिनु परे पनि कर्णालीकै स्याउ पहिलो प्राथमिकता बन्न थालेको छ । काठमाडौंमा त कर्णालीको अर्गानिक स्याउ भन्दै चिनियाँ स्याउले बजार पिटिरहेको छ । तर, पनि राजधानीवासी कर्णालीको स्याउ भनेर जिब्रो पड्काएर खाइरहेका छन् । कर्णालीका स्याउ आउनु पनि डगरकै कमाल त हो । मुस्ताङ मार्फाको स्याउ पोखरा शहरमा मात्र होइन, राजधानीमा पनि प्रशस्तै पाइन थालेको छ । यो पनि त डगरकै कमाल होइन र ? मुस्ताङ त अहिले ‘फिल्म सिटी’ जस्तो पनि हुन थालेको छ । कागबेनीपछि मुस्ताङमा फिल्म सुटिङ गर्ने लर्को नै लागिरहेको छ । आन्तरिक पर्यटकका लागि डगरले नै सहज बनाएको होइन र ?

मध्यपहाडी लोकमार्गले त धेरैको पहाडी जीवन उकास्ने लक्षणहरू देखिन थालेका छन् । अझ लोकमार्गमै सरकारले स्मार्ट सिटी बनाउने भनेको छ । यो सडक कालोपत्रे भएपछि पहाडी जीवनमा सास्ती हैन, सुखका दिन आउने आशा गरिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठले गीत लेखे, ‘मेरो प्यारो ओखलढुंगा’ । यसलाई गीतमा गुन्गुनाएर स्वरसम्राट नारायणगोपालले अझ जीवन्त बनाइदिए । सिद्धिचरण बाँचेका भए आफ्नो गाउँमा डगर पुगेको देखेर कति खुशी हुँदा हुन् । ओखलढुंगाका भाइ हुकुम राई भन्छन्, ‘बीपी राजमार्ग र सुनकोशी नदीमा पुलले त्यस क्षेत्रका धेरैको जीवन उकास्यो । जीवन नै कायापलट गरिदियो ।’

जापानले बनाएको चिल्लो बीपी राजमार्ग पनि खासा नमुनाकै छ । त्योभन्दा ठूलो नमुना त त्यहाँका स्थानीयको जीवनमा आएको परिवर्तन नै हो । हप्तौं लगाएर राजधानी आउने त्यहाँका बासिन्दा एकाबिहानै स्थानीय उत्पादन बोकेर काठमाडौं आएर साँझ घर फर्किन भ्याइरहेका छन् । अब राजधानीबाट चिनियाँ रेल चढेर केरुङ पुग्ने वा भारतको नयाँदिल्ली यी दुई छिमेकीको चासो देखिन्छ । यसरी डगर विस्तार भए नेपालीकै आर्थिक अवस्था पनि किन माथि नउकासिएला र ?तर, डगर विस्तारको नाममा जब कोही सुकुम्वासी बन्छ, मन कुँडिएर आउँछ । सुकुम्वासी बनाएर पनि हुकुमवासीहरूले जब समयमा डगरको काम पूरा गर्दैनन् र धुलो मात्रै ख्वाउँछन् । तिनलाई पो डगरविरोधी भन्न मन लाग्छ ।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीमा पुल बनाएर सुदूरपश्चिमका १८ जिल्लाका लागि डगर खोले । तर, उनले पार्टीमा पनि पटक–पटक श्रीमती आरजु देउवालाई सांसद बनाएर किन राजनीतिक डगर खोलिरहेका छन् ? मैले बुझ्न सकेको छैन । हुन त देउवाले मात्रै होइन, आफ्ना छोरा, नाति भाइभतिजालाई सबैजसो नेतागणले सबै क्षेत्रमा काखी च्यापिरहेकै छन् । यी आसेपासे नै हुन्, डगर विरोधी । विकासको लागि सबैभन्दा पहिले चाहिन्छ डगर । त्यसैले, डगरविरोधी आसेपासेहरूलाई मुर्दावाद भन्न सकौँ ।

Comments