झोले पर्यटकले नेपालीको भाउ

कुम्भराज राई

नाम्चेदेखि फुंगिटाँगाको ओरालो लाग्दा पाको उमेरका दुई बूढाबूढी पर्यटक भेटिए । उनीहरुले दुवै हातमा सल्लाको मोटो हाँगो लठ्ठी टेकेका थिए । लठ्ठी र खुट्टाको तालमेल नमिलेपछि लोग्नेचाहिँ बीच बाटोमै बजारिए । स्वास्नीलाई गाइडले डोर्‍याउँदै थिए । “तपाईंको टुरिस्टलाई स्टिक किन्न लगाउनुपर्थ्यो नि, नत्र लडेरै मर्ने भए”, मैले गाइडलाई सुझाएँ । गाइड उल्टै ममाथि बम्किए, “पैसाको लोभले लन्च त नखाई हिँड्ने टुरिस्टले स्टिक किन्छन् दाइ ? मरे मर्छन् । मैले मार्ने होइन ।” त्यसपछि चुप लागेर अघि बढेँ ।

अघिल्लो बेलुकी मात्रै नाम्चेमा बस्दा होटल जम्बालाका सञ्चालक लामाकाजी दाइले झोले पर्यटकको हैरानी सुनाइसकेका थिए । अघिल्लो दिनदेखि बसेका एक पर्यटक ‘दालभात तरकारी’ अर्डर गरेर फरार भएछन् । “दालभात खान्छु भनेर अर्डर गरेका पर्यटक भाग्लान् भन्ने कसरी सोच्नु ?” लामाकाजीले भने, “कोठामा बाहिरबाट हेर्दा एउटा स्यान्डो र गम्छाभित्रै देखेँ । आउँछन् होला भनेर कुरे पनि आएनन् । २ हजार ५ सयको बिल तिर्न नसकेर भागेछन् ।”

झोले पर्यटकको हैरानीले हिजोआज नेपाली पर्यटकले खुम्बुमा केही महफ्व पाउन थालेछन् । मोलमोलाइ नगरी पैसा तिर्ने नेपाली पर्यटक, विदेशी झोले पर्यटकभन्दा उत्तम हुने होटल सञ्चालकले सुनाए । अधिकांश विदेशीले दिनमा नेपाली १ हजारभन्दा बढी खर्च नगर्ने भनेर तालिका बनाएर खुम्बु छिर्ने गरेको बाटोमा सुनियो ।

शौचालय खोइ ?

सोलुखुम्बु कांग्रेस नेता सूर्य कुलुङ पाङबोचेमा भेटिए । पहिलो पटक खुम्बुक्षेत्र गएका उनको आक्रोश सुनेर जवाफ दिने अवस्था थिएन । केन्द्रदेखि स्थानीय सरकारसम्मले पर्यटक र आरोहीबाट राजस्व असुल्ने, तर आधारशिविर जाने बाटोको अवस्था देखेर सूर्य आक्रोश पोख्दै थिए ।

“राजस्व अर्बौं उठाउने अनि बाटोको ताल यस्तो ? तपाईं पत्रकारहरु पनि यता आएर सेल्फी मात्र खिचेर नफर्किनुस् । सक्नुहुन्छ भने लेख्नूस् । कम्तीमा सगरमाथा चढेर खुसीयालीमा फर्केका आरोही दुई–चार पेग लगाएर लुक्ला पुग्न सकोस् न । अहिलेको बाटो हेर्ने हो भने सद्दे मान्छे पनि कहाँ खसेर मर्छ थाहा छैन ।”

संयोगवश फर्किंदा पनि लुक्लामै भेटिए सूर्य । तीन दिनदेखि प्लेनको टिकट नमिलेर हैरान रहेछन् । पाँच दिनअघि भेट्दाजस्तो आक्रोश उनमा थिएन । रिसचाहिँ पोख्दै थिए, “खुम्बुमा करोडको घर बनाउने अनि ट्वाइलेट कता छ भनेर सोध्दा ऊ त्यो पर भनेर देखाउँछन् । गयो स्याउलामा आची गर्न लगाउँछन् । यस्ता करोडका घर बनाएपछि स्याउलामा किन आची गर्न लगाएका होलान् ?”

नवौँ दिनमा ओखलढुंगा

तेस्रो पटकको सगरमाथा आधारशिविर यात्रा थियो, मेरो । पहिलो पटक आधारशिविरमै एक रात सुतियो । कीर्तिमानी आरोही कामिरिता, सगरमाथा नाप्न गएका नापी विभागको टोलीलगायतसँग राती अबेरसम्म गफिन पाइयो । आधारशिविर पुगेर हाइ पचाउँदै सकुशल एक रात बिताउनु मेरा लागि शिखर चुमेभन्दा कम्ती थिएन ।

भोलिपल्ट बिहान एक भारतीय आरोहीलाई दोस्रो शिविरदेखि उद्धार गरेर लुक्ला पठाउने हेलिकप्टरमा लाक्पानोर्बुले म र साथी बुद्धवीर बाहिङलाई पनि पठाए । लुक्लामा बिहानदेखि बेलुकी ५ बजेसम्म मन्थली उडानका लागि कोसिस गरियो । पर्यटक प्राथमिकताका अगाडि हाम्रो जोर चलेन । त्यसपछि नजिकैको होटल लाभिल्लामा गइयो । चिया, तातोपानी खाएर कोठाको साँचो मागिसकेपछि होटलवाला दाइले फाप्लु जाने हेलिकप्टर भएको बताए । बास बसिसकेको मान्छे हेली चढेर फाप्लु आइपुगियो ।

फाप्लुमा पनि एक विदेशी छाडेर काठमाडौँ फर्किन लागेको स्कर्पियो जीप भेटियो । बेलुकीको खाना खान ओखलढुंगा आइपुगियो । मन्थली हुँदै आठ दिनमा आधारशिविर पुगेको म नवौँ दिनमा ओखलढुंगा आइपुग्दा घरपरिवार छक्क परे । पहिले–पहिले १५ दिन घटीमा नफर्किने ठाउँ जो हो ।

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com