चराहरूको तस्बिर लिन दौडिँदा म आफैं…….

मीरा ढकाल

साथीहरू भन्छन्— तेरो सधैं कथा हुन्छ। कतिपय कुराहरूमा कसोकसो मेरा केही प्रसंग जोडिन्छन् र बन्छन् कथा। आज भने फोटोको कथा। घरमा फोटो स्टुडियो थियो, मसँग तस्बिरसँग जोडिएका याद छन्। म पहिलो सन्तान, बुवा फोटोग्राफर। उहाँ छोरीका अनेक फोटो खिच्ने र धुलाउने, आफन्त र छिमेकी ‘हिस्सी बच्चा’ भन्दै फोटो लगेर आफ्नो घरको एल्बममा सजाउने।

आफन्त र छिमेकीकहाँ बग्रेल्ती भेटिने मेरा तस्बिर हाम्रो घरमा भने एकाध मात्र छन्। हाम्रो ‘ग्रिन फोटो रुम’मा तन्नेरी सपना बोकेर तस्बिर खिचाउने युवायुवतीको लाम हुन्थ्यो। आफ्ना, आफन्तका, छिमेकका समेत दामी लुगा ल्याउनु, मेकअपमा सजिनु, अनेक पोजमा तस्बिर खिच्नु नियमित जस्तै थियो। पारिवारिक तस्बिर इन्डोर पर्दामा, फेसनेबल युवाहरू आउटडोर सुटिङमा सजिन्थे। हाम्रो घरबगैंचामा लिचीको बोटलाई पृष्ठभूमिमा राखेर तस्बिर नखिचाउने आँधीखोलाको छेउछाउमा को होला र खै ?

तस्बिर खिचाउने तर पैसा तिरेर तस्बिर नलैजानेहरूकै कारण एक थाक तस्बिर जम्मा भएपछि बाबाले जुक्ति निकाल्नुभयो। पैसा नतिर्नेहरूको तस्बिर सोकेसमा सिलसिलेबर रूपमा सजाउनुभयो। ‘एक कान दुई कान मैदान’ भने जस्तै सम्बन्धितहरूले आफ्ना तस्बिरबारे थाहा पाए। हतारहतार स्टुडियो आए, पैसा बुझाए र तस्बिर लगेर आफ्नै घरमा सजाए।

कामको सिलसिलामा बाबा केही दिनका लागि बाहिर जानुभएको थियो। टाढा गाउँबाट एक आमै तस्बिर खिचाउन आउनुभयो। मम्मीले खिचे पनि धुलाउन जान्नु हुन्थेन। आमैलाई हामीले तस्बिर लिन केही दिनमा आउन भन्यौं। उहाँले तस्बिर नलिई नजाने अड्डी कस्नुभयो। तस्बिर खिचाउनकै लागि डेढ दिनको बाटो धाएर आएका कारण फर्केर नजाने भन्ने कुरा मनासिव थियो। उहाँको गाँसबासको बन्दोबस्त हामै्रमा भयो। बाबा फर्केर तस्बिर धुलाएपछि आमै फर्किनुभयो। जाँदाजाँदै अठोट के हो, सिकाउनुभयो। उहाँले तीन दिनसम्म तस्बिरका लागि नकुरेको भए सायद ममीले तस्बिर धुलाउन सिक्नैपर्छ भन्ने दृढता लिनु हुँदैनथ्यो कि ?

भारतीय सेनाबाट निवृत्तिभरण पाउन आफ्नो परिचय नं ब्ल्याकबोर्डमा चकले लेखेर छातीमा टाँसेर तस्बिर खिचेको देख्दा ताजुब लाग्थ्यो, अझ। दुई जना  श्रीमती हुनेहरूको तस्बिर त झनै अनौठो देखिन्थ्यो। विद्यालयमा रजिस्ट्रेसनको आवेदन खुल्ने समयमा तस्बिर खिच्नेको लाम हुन्थ्यो। बाबाममी मध्यरातसम्म तस्बिर धुलाउने। अर्कोे दिन बिहान धुलाइएका तस्बिर पखाल्ने, सुकाउने, बोर्डर मिलाएर काट्ने, खाममा राख्ने, र बिल तयार पार्ने जिम्मा भने मेरोे। बाल्यकालका कैंयौं पारिला बिहान मैले हातमा कागज र कैंची खेलाएर बिताएँ। आज पनि मलाई गाउँमा फोटोकी छोरी भनी चिन्छन्। सबैसँग जुध्ने नाम भएका कारण बाबालाई कसैले फोटो नाम राखिदिएको थियो, जो कालान्तरमा उहाँको परिचय बनिदियो।

कहिले मानिस हराउँथे तर तस्बिर फेला पर्थे। विदेशमा बस्नेको तस्बिर आवश्यक पर्दा घरमा नभेटे स्टुडियोमा खोज्न आउँथे। अफ्ट्यारो बुझी नेगेटिभ खोज्नेजस्तो पट्यारलाग्दो काम पनि हामी पोजेटिभ्ली लिन्थ्यौं। मलाई भने मानिसको नाक, नक्सा, अनुहारको बनोट हेरेर नेगेटिभबाट मान्छे चिन्ने काम रमाइलो लाग्थ्यो।

ममीले तस्बिर धुलाउन सिकेपछि म उहाँसँगै डार्करुम जान्थेँ। तस्बिर धुलाउँदा अँध्यारो कोठामा आमाछोरी मन फुकाएर गफ गर्दै सम्बन्धमा उज्यालो थप्थ्यौं। नेगेटिभलाई फ्रेममा मिलाउनु, लक गर्नु र मेसिनमा बटन थिच्नु, लाइटको सहाराले नेगेटिभको छाया कागजमा पार्नु, निकालेर रसायनमा चोपल्नु। फोटोको कागज रसायनमा थोरैबेर चोपले मधुरो र धेरै चोपले गाढा तस्बिर। जीवनमा सन्तुलनको महत्व डार्क रुममा सिकेँ।

समय फेरियो। हातहातमा क्यामेरा र क्यामेरावाला मोबाइल आयो। फोटो स्टुडियो सुनसान भयो। र एक दिन बन्द भयो। लगभग १७ वर्ष पुग्न आँट्दा पनि मसँग स्टुडियो, क्यामेरा र डार्क रुमका स्मृति ताजा छन्।

बाल्यकालमा अरुले तस्बिर खिचेको देखेर झिँझो मान्ने ममा कतै तस्बिरप्रतिको पे्रमको झिल्को बाँकी रहेछ, जो अचानक झ्यार्र गर्दैै क्यामेराप्रतिको रहरका रूपमा सल्कियो। मैले महिनामा पाँच सय, हजार बचत गर्दै क्यामेरा किनेँ र जानी नजानी तस्बिर खिच्न थालेँ। मेरा संगतका केही साथी राम्रा तस्बिर खिच्थे, उनीहरूको तस्बिरले मलाई आफ्नो तस्बिरको न्यूनतम बेन्चमार्क तयार पार्न सघाउँथे।

आजकल साना, मसिना कुराहरूमा रुमल्लिन्छु। झट्ट सबैको आँखा नपर्ने म्याक्रो फोटोग्राफीलाई विशाल पाउँछु। सानाभन्दा साना डिटेल्सको भव्यताले मलाई हिरिक्कै पार्छ। त्यसैले त फूल, पुतली, चरा, कीरा यस्तै यस्तैलाई पछ्याइबस्छु। सानासाना सब्जेक्टलाई फोकस गरेको देखेर एक अग्रजले #TheJoyOfSmallThings नाम सुझाउनुभएको थियो। हिजोआज धेरैजसो म्याक्रो तस्बिरमा यो ह्यासट्याग राख्छु। रमाइलो कुरा त केही साथीहरूले फूलको जवाफ पत्थरले होइन, फूलले दिनुहुन्छ। अर्थात् सोही ह्यासट्याग प्रयोग गरेर फोटो पोस्ट गर्नुहुन्छ। फोटोफोटो खेल्न पनि रमाइलो हुन्छ।

चरालाई प्रेम गर्छु। रंगीचंगी चराहरूको तस्बिर लिन दौडिँदा म आफैं पनि चरा जस्तै स्वतन्त्र महसुस गर्छु। चरालाई पछ्याउँदा पछ्याउँदा थाक्छु। म बिरालोको चालले बिस्तारै उनीहरूको छेउमा पुग्नुअगावै भुर्र्र उडिदिन्छन्। कहिले लेन्स मिलाउँदा मिलाउँदै उडिदिन्छन्। र, उड्दा उड्दै स्वतन्त्र हुनुको रौनक याद दिलाउँछन्।

कहिले कति दिनसम्म पछ्याउँदा पनि चरा कैद गर्न सक्दिनँ। कहिले एकै दिनमा धेरै चरा क्यामेरामा कैद हुन्छन्। कोलाहलमाझ पनि चराको चिरबिर आवाज सुन्छु। अरूले भन्दा पहिले चरा देख्छु। चराको फोटो खिच्ने हुटहुटीले कहिले असहज महसुस पनि हुन्छ। किनकि छेउमा चरा देख्नासाथ मेरो ध्यान स्वतः उता मोडिन्छ। बसमा यात्रा गर्दा अरूले यादसम्म नगर्ने चरा र गुँड याद गर्छु। चलिरहेको गाडी रोकेर तस्बिर खिच्न पाए जस्तो पनि हुन्छ।

पानी पर्दा वरपर निथु्रक्क भिजेका चरा नियाल्छु। भिजेका चरा फर्रफर्र प्वाँख सुकाउँदै भुर्र उडेको देखेर भने खुसी हुन्छु। कतै रूख देख्दा गुँड पनि छ कि भनी हेर्छु। बचेरा भएको गुँड देखे दंग पर्छु। रित्तो गुँड देखेर बचेरा बढेर उडेछन् भन्ने ठान्छु। अनि सम्झन्छु, हामीले पनि त सपना पछ्याउँदा घर छोडियो, गुँड रित्तो पारियो, मेरो गुँड (घर) पनि त खाली होला सोचेर गम्छु। यो देशमा कैयौं गुँड (घर) रित्ता छन्। चरा त उडेपछि फर्केर गुँडमा आउँदैनन्। आशा गरौं, सपना पूरा भएका मानिस चाँडै नै आफ्ना गुँड (घर) फर्किनेछन्। साभार अन्नपुर्ण

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com