खप्तडकाे सुन्दरता हराउदै

बझाङ — वरपर हरियाली जंगल । बीचमा ठूला, फराकिला पाटन । पाटनभरि गहिरा खाल्डाखुल्डी । भत्किन लागेका ढिस्का र जताततै ठूलासाना पहिरो । खप्तडको रूप दिनप्रतिदिन बिग्रँदै छ । भूक्षयका कारण जता हेरे पनि ‘दागैदाग’ देखिन्छ ।

अधिकांश ठाउँमा दलदले जमिन रहेकाले यहाँका पाटनमा बाह्रैमास चिस्यान र ओसिलोपना रहन्छ । हिउँदका महिना पूर्ण रूपले बाक्लो हिउँले ढाकिने जमिन वर्षातमा भिजिरहन्छ । कमजोर भूबनोट भएकाले सामान्य वर्षा हुनेबित्तिकै माटो खस्ने, पहिरो जाने गर्छ ।

पाटनहरूमा खुला रूपमा बस्तुभाउ चराउन, डुलाउन दिएकाले खुकुलो जमिनमा भार पर्न गई भूक्षय हुने गरेको स्थानीय बताउँछन् । पक्की घर निर्माणका लागि सामग्री उत्खनन गर्दा पनि भूक्षय बढेको उनीहरूको भनाइ छ । ‘पछिल्ला वर्षमा गेस्टहाउस तथा आवासगृह निर्माणका लागि ढुंगामाटो उत्खनन गर्दा भूक्षय तथा पहिरोको मात्रा बढदै गएको छ,’ बझाङ खप्तड छान्ना गाउँपालिकाका स्थानीय प्रकाश रावलले भने । भूक्षय नियन्त्रण गर्न बेलैमा ध्यान नदिए खप्तडको सुन्दरता मासिने र भविष्यमा प्राकृतिक विपत्तिको खतरा आइपर्ने उनले बताए ।

‘जता हेर्‍यो, उतै पाटन भत्केका रहेछन्, यसमा राज्यले चासो दिनुपर्छ,’ काठमाडौंबाट घुम्न खप्तड पुगेका रमेश प्रसाईंले भने । मध्यवर्ती व्यवस्थापन समितिका सदस्य हिरेन्द्र रावलका अनुसार २२ वटा ठूला पाटनमा कम्तीमा ५ सय सानाठूला भूक्षय छन् । यो संख्या बर्सेनि बढ्दो छ ।

२०६८ सालतिर यहाँको भूक्षय नियन्त्रण गर्न निकुञ्ज कार्यालयले प्रयास गरेको थियो । बायोइन्जिनियरिङ गरेर तथा काठका खाँबा गाडेर गरिएको प्रयासले नेपाली सेनाको ब्यारेक आसपास पहिरो नियन्त्रण भएको छ । त्यसयता यस विषयमा काम नभएको र निकुञ्ज क्षेत्रमा कति ठाउँमा भूक्षय भएको छ भन्ने यकिन तथ्यांक पनि कार्यालयसँग नभएको निकुञ्जका सिनियर गेमस्काउट वीरेन्द्रप्रसाद यादवले बताए । ‘कमजोर भूबनोटमा अधिक चरिचरन हुँदा बस्तुभाउको खुरले कुल्चिएर बढी भूक्षय हुने गरेको छ,’ उनले भने, ‘पाटन क्षेत्रमा पानीको उचित निकास बनाउन सके पनि भूक्षय न्यूनीकरण हुन सक्थ्यो ।’

भूक्षयले खप्तडको सौन्दर्य बिगार्दै गएकामा आफूहरू चिन्तित भए पनि स्रोत अभावमा केही गर्न नसकिएको खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रबहादुर चन्दले बताए । ‘निकुञ्जका विभिन्न ठाउँमा भूक्षय सुरु भएको छ । खप्तड क्षेत्रभित्र बग्ने खोला र नदी किनारका क्षेत्रमा बिग्रँदै गएको छ,’ उनले भने ।

चन्दले पहिरो सबै ठाउँमा सुरु भएको बताए । ‘त्रिवेणीदेखि पुलपुला पाटनसम्म हेर्नै नमिल्ने गरी भूक्षय भएको छ,’ उनले भने, ‘नियन्त्रणका लागि विभिन्न जिल्लाका भूसंरक्षण कार्यालयलाई गुहारेका हौं । कसैले पनि सुनेका छैनन् ।’ वसन्तप्रताप सिंह/कान्तिपुर

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com