कर्ण शाक्यलाई फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न गठित समितिका संयोजकको प्रश्न ?

0

विश्वप्रकाश लामिछाने फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न गठित समितिका संयोजक हुन् । लामिछानेको समितिले २०६९ जेठमा सरकारलाई फेवातालको १६ सय ९२ रोपनी जग्गा अतिक्रमणमा परेको र त्यसलाई फेवातालकै बनाउनुपर्ने प्रतिवेदन सरकारलाई बुझाएको थियो । समितिले सरकारलाई प्रतिबेदन बुझाएको ४ वर्ष पुगेपनि त्यसको कार्यान्वयन भएको छैन । यसै विषयमा केन्द्रीत भएर रेडियो नागरिकमा नविन खतिवडाले लामिछानेसँग कुरा गरेका छन् ।

 अर्को डरलाग्दो कुरा के भने प्रत्येक वर्ष हर्पन खोला र हर्पनका साहायक खोलाहरुले १ लाख ८० हजार घनमिटरसम्म गेग्रान तालमा बगाएर ल्याउँछन् । यसले गर्दा पनि फेवाताल क्रमशः पुरिँदै गएको छ ।

फेवाताल अतिक्रमणबारे तपाईँ संयोजक रहेको समितिले ४ वर्ष पहिले सरकारलाई प्रतिवेदन दिएको थियो । तर त्यो कार्यान्वयन भएको छैन । ४ वर्षसम्म यो प्रतिवेदन कहाँ गयो ?
हामीले फेवातालको जमिनको सत्यतथ्य खोजेका हौं । फेवातालबारे अनुसन्धान गरिएका विषयहरु समेटेर यो प्रतिवेदन तयार पारिएको हो । जाइका, आयुसिएनका रिर्पोटहरुलाई पनि यसमा आधार मानिएको छ । हामीले प्रतिवेदन पेस गर्दा यसलाई कार्यान्वयन गर्ने भनेर प्रतिवद्धता जनाइएको थियो । फेवाताल पोखराको मात्र नभएर देशको सम्पदा हो । फेवाताल विश्व रामसार सूचीमा सूचीकृत छ । यो अन्तर्राष्ट्रिय सम्पदा पनि हो । यत्रो लामो समयसम्म पनि यो प्रतिवेदन कार्यान्वयन नहुनु दुःखको विषय बनेको छ ।

तपाईँहरुले प्रतिवेदनमा ९ सय ५० भन्दा बढी लालपूर्जा खारेज गर्न सिफारिस गर्नुभएको छ । फेवाताल अतिक्रमणको शृंखलात भयावह रैछ है ?
हामीले फेवातालको इतिहासदेखि अहिलेको अवस्थासम्मका तथ्य राखेका छौं । २०६४ सालमा भूमिसुधार मन्त्रालयअन्र्तगतको नापी विभागबाट हामीले फेवातालको सर्वे गर्यौं । त्यतिबेला फेवातालको जमिन केवल ९ हजार ९ सय ५५ रोपनीमात्र पानीले ढाकेको पायौं । विगतका तथ्यहरु हेर्दा फेवाताल झण्डै २२ हजार रोपनीमा फैलिएको देखिन्छ । १८ सालमा हेर्दा १० बर्गमिल देखिन्छ भने २०३२-०३३ मा आउँदा ६.६ बर्गमिल रहेको थियो । अहिले ४.२ बर्गमिलमा खुम्चिएको छ । यसले ५० प्रतिशतभन्दा पनि बढी फेवाताल पुरिएको देखाउँछ ।
अर्को डरलाग्दो कुरा के भने प्रत्येक वर्ष हर्पन खोला र हर्पनका साहायक खोलाहरुले १ लाख ८० हजार घनमिटरसम्म गेग्रान तालमा बगाएर ल्याउँछन् । यसले गर्दा पनि फेवाताल क्रमशः पुरिँदै गएको छ ।

 जग्गा दर्ता भएपछि पनि २०३८ सालमा फेवाको बाँध बनाउने काम सुरु भयो । बाँध बनेर फेवातालले आफ्नो सतह लिन थालेपछि अतिक्रमित जग्गा अहिले पनि पानीमुनि छ । पानीमुनिको पनि लालपुर्जा छ ।  

प्रकृतिक कारण त एउटा भयो, मानवीय अतिक्रमण कहिलेदेखि कसरी सुरु भयो ?
प्राकृतिक अतिक्रमणसँगै फाँटहरु बन्ने क्रम सुरु भयो । २०१८ सालमा भारतीय सहयोगमा त्यहाँ बाँध बन्यो । बाँधले फेवाताल पुरिँदै गए पनि एउटा आकार दिँदै पुरिएको भागलाई सिमसार क्षेत्रको रुपमा कायम गरेको थियो । तर दुर्भाग्य २०३१ सालमा फेवाको बाँध भत्कियो । फेवाको आधा पानी बग्यो । त्यतिबेला बाराही मन्दिर पनि हिँडेर जानसक्ने अवस्था थियो । २०३३ सालमा सालमा नापी आयो । त्यतिबेला अमोद कमोद गरेको आधारमा सर्वे गर्ने चलन रैछ । फेवाको पानी बगेको अवस्थामा नापी भएको र त्यतिबेलाका टाठा बाठाले अतिक्रमण सुरु गरेको देखिन्छ । जग्गा दर्ता भएपछि पनि २०३८ सालमा फेवाको बाँध बनाउने काम सुरु भयो । बाँध बनेर फेवातालले आफ्नो सतह लिन थालेपछि अतिक्रमित जग्गा अहिले पनि पानीमुनि छ । पानीमुनिको पनि लालपुर्जा छ ।

अहिले पनि फेवातालको पानीले ढाकेको जमिनको लालपूर्जा छ ?
हाम्रो आयोगले कित्ता नम्बर खोजेर छुट्याइदिनुस् भनेर अमिनलाई पत्राचार गर्यो । त्यसपछि उहाँहरुले कित्ता नम्बर लेखेर छुट्याइदिएपछि पत्राचार गर्नुभयो । उहाँको पत्रमा यो जग्गा कहाँ पर्छ, कस्तो अवस्थामा छ, हामीले छुट्याउन सक्दैनौ भन्नु भएको छ ।
नापी फिल्डमा गएर गर्ने चलन हुन्छ तर त्यतिबेला घरमा बसेर १ किलोमिटर, आधा किलोमिटरसम्मका स्केलजस्ता कित्ता काटिएको रैछ । कित्ताहरु जहिले पनि एउटै साइजका सिधा हुँदैनन्, तर फेवका कित्ता त्यस्ता छन् । फिल्डमा गएर नापी भएको भए यस्तो स्थिति आउने थिएन । लालपूर्जा भएका धेरैजसोले यही नै मेरो कित्ता हो भनेर छ्ट्याउन सक्ने स्थिति छैन ।

 कर्ण शाक्यलाई म प्रश्न गर्छु–  त्यो होटलको  सेफ्टी ट्याङ्कीको रसायन कहाँ जान्छ ? फेवातालको पानी प्रदुषण गर्ने अधिकार उहाँलाई छ कि छैन ? पैसा कमाउने नाममा फेवाताललाई अतिक्रमण गर्ने अधिकार उहाँलाई छैन । 

छानविन समितिले केही जमिनको लालपूर्जा खारेज गर्न सिफारिस गरेको छ, केहीलाई मुअब्जा दिन भनेको छ । कस्तोको लालपुर्जा खारेज र कस्तोलाई मुअब्जा दिन भन्नुभएको हो ?
अमोद कमोद हेर्दा, ०९० सालदेखिको तिरो भरो हेर्दा तालकै जग्गा हो भन्ने प्रमाणित हुनेलाई लालपूर्जा खारेज गर्न अनुरोध गरेका छौं ।  ऐतिहासिकरुपमा तालकै जग्गा हो, तर ०९० सालदेखि अमोद कमोद गरेको र तिरोभरो गरेको पनि फेला पार्यौं । बाउ बराजुले ताल मिचेता पनि अहिले नापीबाट ताल मिचिस् भन्ने अवस्था नरहेकाले त्यस्तो जग्गालाई मुअब्जा सिफारिस गरेका छौं ।

पछिल्ला दिनमा पनि फेवाताल अतिक्रमणको शृंखला निरन्तर छ ?
प्रत्येक वर्ष फेवाताल पुरिँदैछ । तालका जग्गाका हाम्रा सीमानाहरु कस्ता छन् भने पूर्वतर्फ तालको छालसम्म, पश्चिमतर्फ खोलासम्म भनिएको छ । ताल पुरिँदै जाँदा छाल पनि सकिँदै जान्छ । यसले के देखाउँछ भने वैधानिकरुपमा दर्ता गर्न मिल्ने गरी सीमाना राखिएको छ । २ आना, ३ आनाको तिरो भरोले जति रोपनी पनि जग्गा दर्ता गर्न मिल्ने सहजता देखाएको छ । वैज्ञानिकरुपमा सीमाना नछुट्याएका कारणले पनि यो हालत भएको हो । कानुन फितलो हुनु र अर्को जग्गा नापी गर्नेहरुको विवेक नहुँदा पनि यस्तो अवस्था आएको हो ।

पोखरामा व्यवसाय गर्छु, पोखरालाई माया गर्छु भन्नेहरुबाटै ताल मिचिएको रैछ हैन र ?
पोखरा प्रकृतिप्रेमीहरु बस्ने ठाउँ हो । यहाँ प्रकृतिलाई माया गर्नेहरुको ठूलो संख्या छ । यहाँ हरेक पेसा र व्यवसायमा रहेकाहरुले फेवाताललाई अत्यन्त माया गर्नुहुन्छ । तर केही मुठ्ठीभर व्यक्तिले अतिक्रमण गरेकाले व्यवसायीहरुले यस्तो गरे भन्नु आवश्यक छैन । चामलमा वियाँ हुन्छ, हामीले त्यसको चर्चा गर्दैनौं । यसो गर्ने केही नगन्य मान्छेहरु छन् । उनीहरुलाई हतोत्साही बनाउनुपर्छ । पोखरेलीहरुले फेवाताललाई हिजोकै अवस्थामा फर्काउनुपर्छ भनेर साथ दिइरहेका छन् ।

तर फेवा किनारमै व्यवसाय गर्ने कर्ण शाक्यले फेवाताल राणकालमा बनेको कृतिम ताल हो भनेर भन्नुभयो ?
व्याक्तिगतरुपमा उहाँबारे केही प्रतिक्रिया जनाउन चाहन्न । उहाँले फेवातालको सिमसारक संरक्षण क्षेत्रमा होटल बनाउनुभएको छ । उहाँलाई म प्रश्न गर्छु–  त्यो होटलको सेफ्टी ट्याङ्कीको रसायन कहाँ जान्छ ? फेवातालको पानी प्रदुषण गर्ने अधिकार उहाँलाई छ कि छैन ? पैसा कमाउने नाममा फेवाताललाई अतिक्रमण गर्ने अधिकार उहाँलाई छैन ।
फेवाताल प्राकृति ताल हो । यो उहाँले बुझ्नुपर्छ । इतिहाँसदेखिकै यो सुन्दर गहना हो । उहाँजस्ता विद्वानले अध्यन गर्नु भएको छैन भने पोखरा आउनुस् यसबारे यथेस्ट प्रमाण दिउँला । विज्ञले भनेपछि जे पनि राम्रो हुन्छ भनेर उहाँले जे भनिरहनु भएको छ त्यो गलत छ । उहाँलाई फेवातालको सिमसार क्षेत्र छोडिदिन अनुरोध पनि गर्छु ।
पोखरा क्षेत्रमा ९ वटा तालहरु छन् । यी तालहरुमा उहाँहरु जस्तै व्यवसायी आएर अतिक्रमण गर्नुभयो भने यसको के अस्तित्व रहला ? सम्पदाको अतिक्रमण हैन, संरक्षणमा लाग्न अनुरोध छ ।

 अहिले कोही पनि फेवातालको किनारामा आएर यो मेरो जग्गा हो भनेर भन्ने हिम्मत गर्न सक्दैन । माफियाहरुको क्षणिक स्वार्थ केही समय पूरा भए पनि त्यो अब पूरा हुने छैन । अब उनीहरुको पालो गयो । 

फेवाताल अतिक्रमण भैरहँदा पोखराको नागरिक समाज किन मौन छ ?
यहाँको नागरिक समाज मौन छैन । यसको विषयमा यहाँका नागरिक समाज लागिरहेको छ । यहाँका सिंगो सामाजिक संघसंस्थाहरु यसको संरक्षणमा लागेका छन् । भर्खरमात्र राज्यको संरचना फेरिएको छ । केन्द्रमा यस्तो खालको संरचना छ, जसले अन्य क्षेत्रका आवाजलाई, पीडालाई सुन्दैन । तर यहाँका नागरिक समाज फेवातालको संरक्षणमा जागरुकताका साथ लागेका छन् ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले महाअभियोग लगाउनुको एउटा कारण फेवाताल अतिक्रमणको मुद्दा पनि हो भन्नु भएको छ । यसले के देखाउँछ भने अतिक्रमणकारीहरु शक्तिशाली छन् । तीसँग नागरिक समाज जुध्न सकेनछ कि ?
हामी प्रतिवेदन तयार पार्ने क्रममा फेवातालमा प्राविधिकसहित नापी गर्दै थियौं । त्यतिबेला एक्कासी हामीमाथि आक्रमण गर्ने प्रयास भयो । यो थाहा पाउने वितिकै यहाँका नागरिकहरु यति ठूलो मात्रामा त्यहाँ पुग्नुभयो कि ती व्यक्तिहरुले हामीलाई छुनसक्ने अवस्था पनि रहेन । उनीहरु भाग्न बाध्य भए ।
दलाल र माफियाहरुको जाल तल्लो तहमा मात्र होइन राज्यको माथिल्लो तहमा पनि सक्रिय छ । अहिले कोही पनि फेवातालको किनारामा आएर यो मेरो जग्गा हो भनेर भन्ने हिम्मत गर्न सक्दैन । माफियाहरुको क्षणिक स्वार्थ केही समय पूरा भए पनि त्यो अब पूरा हुने छैन । अब उनीहरुको पालो गयो ।

Comments